शुक्रबार, बैशाख ०७, २०८१

हुलाकमार्फत कार्यसम्पादन गर्न नेपाली दूतावास जापानको अनुरोध

टोकियो । जापानमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि नेपाली राजदूतावास टोकियोले सतर्कताका साथ कार्यसम्पादन गर्न अनुरोध गरेको छ । दूतावासद्वारा जारी विज्ञप्तीमा जनाए अनुसार संक्रमणबाट सुरक्षित रहन दूतावासबाट हुने कामका लागि हुलाकमार्फत आफ्ना कागजात पठाई कार्यसम्पादन गर्न गराउन जापानबासी नेपालीहरुलाई अपिल गरेको छ ।
कोरोना भाइरसको संक्रमण र जोखिमबाट सुरक्षित रहन व्यक्ति स्वयं अनिवार्य रुपमा उपस्थित हुनुपर्ने (अधिकृत वारेशनामा, राजदूतावासमा स्वयं उपस्थित भई हस्ताक्षर प्रमाणीकरण गर्नुपर्ने) बाहेकका राजदूतावासबाट उपलब्ध हुने (राहदानी नवीकरण, नयाँ राहदानी, ट्राभल डकुमेन्ट, कागजात प्रमाणिकरण गर्ने लगायतका० सेवाहरुका लागि हुलाक मार्फत नै आफ्ना कागजात पठाउनु विज्ञप्तीमा भनिएको छ  । त्यस्तै विश्वब्यापीरुपमा महामारीको रुप लिईरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न आफ्ना बालबालिकालाई सम्भव भएसम्म अनलाइनका माध्यमबाट विद्यालयको कक्षा लिने व्यवस्था मिलाउन दूतावासले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यसैगरी दूतावासले विज्ञप्तीमा जापानमा रहेका नेपालीहरु नेपाल जाने सन्दर्भमा नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७७-०७-२४ को निर्णय अनुसार नेपाल जाने अभिभावकको पिसीआर रिपोर्ट नेगेटिभ भएमा संगै यात्रा गर्ने पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरुको पिसीआर रिपोर्ट आवश्यक नपर्ने जानकारी गराएको छ ।