त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले बिमानस्थलको सुरक्षालाई बिशिष्टिकरण र प्रभावकारी बनाउनका लागि बिमानस्थल सुरक्षा प्रहरी युनिट गठन गर्न सम्बन्धित निकायबीच छलफल भइरहेको बताएका हुन् ।

केही मानिसहरु नियतबस गलत क्रियाकलापमा संलग्न हुने तथा कतिपय अन्तर्राष्ट्रिय आपराधिक संगठनसँग समेत नजिक भएका व्यक्तिहरु बिमानस्थलको बाटो हुँदै आवतजावत गर्ने सम्भावना रहेको भन्दै उनले बिमानस्थलको सुरक्षामा खटिएका व्यक्तिहरुलाई थप तालिम र प्रशिक्षणको आवश्यकता रहेको बताए ।

उनले केही समयभित्रै गौतम बुद्ध र पोखरा तथा निकट भविष्यमा नै निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने भन्दै त्यसको सुरक्षा पनि महत्वपूर्ण बिषय रहेको उल्लेख गरे । कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन बिमानस्थलको विकास र स्तरोन्नतीको कार्य तीव्र ढंगले अघि बढिरहेको जानकारी दिए ।

त्रिभुवन बिमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आराम गर्नका लागि सुरक्षागार्ड भवन निर्माण गरिएको र यसले बिमानस्थलको सुरक्षामा खटिएकाहरुको मनोवल उच्च हुने विश्वास लिएको बिमानस्थलले जनाएको छ । तीन सय ५० जना सुरक्षाकर्मी अट्ने भवन संचालनमा आएसँगै विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया