बिहिबार, चैत १५, २०८०

खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ, हेरौँ !

काठमाडौं । साझा पार्टीले केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको उल्लेख गरेका हुन् ।

साझाले सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने बताएको छ । साथै साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् ।

त्यसैगरी साझा पार्टीले दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न अपिल पनि गरेको छ । उसले सरकारलाई तुरुन्त आफ्नो निर्णय फिर्ता लिन र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्न माग समेत गरेको छ ।