बिहिबार, बैशाख १३, २०८१

कविता : दसैँ

@दीप पाठक,सानोमा
एउटा भ्रमको जिन्दगी बाचिएथ्यो
कति मिठो भ्रम थियो त्यो
दसैँ वर्षै पिच्छे आउँछ
दसैँ जिन्दगीका सबै शरदमा आउँछ
दसैँ संसारका सबै गाउँ,सबै सहरमा आउँछ
कति सुन्दर भ्रम थियो त्यो
भ्रमनै सही सानोमा जिन्दगी सुन्दर थियो।।
च्याङ्ग्रा र चेलुक खेज्दै मान्छेहरू
गाउँ छिरेपछि दसैँ आउँछ
भरिया अगाडी लगाएर लाहुरेहरू
गाउँ छिरेपछि दसैँ आउँछ
किसानको पसिनाले
खेतभरी मन्द बासना छाडेपछि दसैँ आउँछ
केटाकेटीहरू बावियो माग्न आएपछि दसैँ आउँछ
खुव रमाईलो गरि आउँछ दसैँ~गाउँमा।।
आमा
रेडीयोमा दसैँ धुन बज्दा
मन खिन्न हुदो हो
गुर्दौली,सयपत्री फूल्दा
सम्झना बढ्दो हो
छोरा-छोरी आएनन?
छिमेकीले सोध्दा
मुटु रेटीदो हो!!
घरको पिढी खाली-खाली हुदा
सन्तान भएर पनि कोही नहुदा
मन पग्लीन्छ,आँखा रसाउँछन् भन्छेऊ
नसुनेझै गर्छु
आमा चाडवाड आउँदा
कति नरमाईलो हुदोहो।।
नवदुर्गा पुज्दा
आडैमा बसेर मैले घन्टी बजाउँथे नी बा,
हजुरको आडैमा बसेर घन्टी नबजाएको पनि
बर्षौ भएछ…..
बा लङ्गुर बुर्जा खेल्नैको लागि
हजुरको अस्कोटको गोजीबाट पैसा चोर्थे
फेरिपनि बा हजुरको अस्कोटबाट पैसा चोरेर
लङ्गुरबुर्जा खेल्न मन छ
हजुरको गाली नखाएको पनि त वर्षौ भयो
बा मलाई खुब गाली खान मन छ
धित मरूञ्जले
साच्ची भन न बुढा
अब पनि मैले अस्कोटको गोजी खोतले भने
गाली गर्छौकी नाई?
आमाले भनेकी
बावु के खान्छस्?
मेरो चिन्ता कत्ती नगर्नु आमा
दुध पाईन्छ कुराउनी बनाउछु
पिठो पाईन्छ सेल बनाउँछु
अबीर पाउँछ,दही पाउँछ,चामल पाउँछ
टिका बनाउँछु
आमाले फेरी सोधीन
बावु!
कसले लगाइदिन्छ तिमीलाई टिका?
आफ्नै गला अबरूद्ध भयो
म कसरी भनु मेरी आमालाई
आमा ऐना हेर्छु
आफैले आँफैलाई टिका लगाउँछु।।