शुक्रबार, बैशाख ०७, २०८१

विश्वमा २ करोड ९८ लाख संक्रमित कोरोनामुक्त, ११ लाख १४ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९८ लाख ८४ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा हालसम्म ३ करोड ९९ लाख ४५ हजार २२४ जना संक्रमित भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १४ हजार ५७८ पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ८९ लाख ४६ हजार १ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७१ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८३ लाख ४२ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ५४ लाख ३२ हजार १ सय भन्दाबढी निको भएका छन् भने २ लाख २४ हजार २ सयबढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख २४ हजार ३६२ पुगेको छ भने १ लाख ५३ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४६ लाख ३५ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण सात सय २७ जनाको मृत्यु भइसकेको छ भने एक लाख २९ हजार मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।