बिहिबार, बैशाख १३, २०८१

५ असोजबाट नियमित आन्तरिक उडान सुरु हुने,सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै ५ असोजबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।
मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।
यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो । मन्त्रालयका अनुसार पूर्वनिर्धारित सुरक्षा सतकर्ताका विधि भने सबै एयरलाइन्सले अपनाउनु पर्ने भएको छ ।
२१ सेप्टेम्बरबाट ३० सेप्टेम्बर २०२०सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ ।
वायुसेवा संस्थाले लकडाउनअघि ओगटेको बजार हिस्साको आधारमा २५ प्रतिशत उडान हुने गरी तालिका तय गरिएको छ ।
अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ ।
माग र औचित्यता हेरी थप उडान स्वीकृत गरिने मन्त्रालयले वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।