शुक्रबार, असार ०५, २०८३

कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० को मृत्यु,दुई दिन शोक घोषणा

प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन् । खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिनको शोक अवधिको घोषणा गरेका छन् । उनले स्थानीय बासिन्दालाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रह गरे ।

दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक बर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन् ।