भारतले छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछः मोदी

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा जोडिएका मात्र नभएर मन जोडिएका सबै देश भारतको छिमेकी भएको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिन र समुन्द्र दुवैबाट सीमा जोडिएका देशहरु भारतको छिमेकी भएको बताएका हुन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।

प्रधानमन्त्री मोदीले दक्षिण एसियामा विश्वकै एक चौथाइ जनसंख्या रहेको उल्लेख गर्दै यस क्षेत्रका नेताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने बताए । उनले पछिल्लो समय पश्चिम एसियाली देशहरुसँग भारतको सम्बन्ध मजबुत भएको पनि बताएका छन् । यी देशमा ठूलो संख्यामा भारतीय नागरिकहरुले काम पाएको उल्लेख गर्दै मोदीले त्यसको प्रशंसासमेत गरेका छन् ।

यस्तै, प्रधानमन्त्री मोदीले भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । उनले नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइने बताए । कोरोनाका कारण लाखौं मानिस प्रभावित भएका भन्दै छिट्टै भारतले कोरोनाबाट विजय प्राप्त गर्ने समेत उनले बताए ।

यस्तै, प्रधानमन्त्री मोदीले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई साथ दिन नागरिकलाई आग्रह गरे । साथै प्राकृतिक सम्पदाले भरिपूर्ण भारत आत्मनिर्भर हुनुपर्ने भन्दै मोदीले विश्व अर्थव्यवस्थामा भारतले योगदान बढाउने पनि जिकिर गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया