कोभिड-१९ विरुद्धको खोप तयार पारेको रुसी राष्ट्रपति पुटिनको दाबी

एजेन्सी । रुसले कोरोनाभाइरस कोडिड १९ विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।
रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् । तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको बीबीसीले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया