शुक्रबार, बैशाख ०७, २०८१

पहिरोमा पुरिएर बैतडीमा दुई जनाको मृत्यु,आठ स्थानीय तह उच्च जोखिममा

बैतडी । लगातारको वर्षाका कारण बैतडीमा घरमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए। सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् ।

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ ।

लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ ।