शनिबार, बैशाख ०८, २०८१

भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगित,अव भ्रमण दशक : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । अप्रिलसम्मका लागि स्थगित गरेको नेपाल भ्रमण वर्ष २०२० सरकारले औपचारिक रुपमा स्थगित गरेको छ । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।

 

उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७ बाट विघटन हुने भएको छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बन्यो । खासगरी चिनियाँ र भारतीय पर्यटकीय स्रोत बजारलाई प्राथमिकता दिएको सरकारले यी दुई मुलुकबाट मात्र ठूलो संख्यामा पर्यटक भित्राउने योजना समेत बनाएको थियो ।

कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो ।  तर, कोरोना जटिल बन्दै गएपछि अहिले आवातजावत बन्द भएको छ । अधिकांश देश लकडाउनमा छन् । सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो । ७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिनामै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो। तुलनात्मक रुपमा ती दुई भ्रमण वर्षलाई सफल भ्रमण वर्ष मानिन्छ । किनकी भ्रमण वर्ष पछि पर्यटनले व्यवसायिक कोल्टे फेरेको थियो ।

भ्रमण वर्ष स्थगित भएसँगै पर्यटनमन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर अब कुनै वर्षविशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताएका छन् ।