Nepali date


शनिबार, फाल्गुन १०, २०७६

रसुवामा पर्यटकीय गन्तव्य र भ्रमण वर्षको तयारी

रसुवा । नेपाल भ्रमण वर्षको अवसरमा घुमफिरका लागि उपयुुक्त स्थानको पहिचान र व्यवस्थापकीय काममा पर्यटक व्यवसायी अगाडि बढेका छन् ।

रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ, तथा पवित्र तीर्थ गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि खाने–बस्ने व्यवस्थापन गर्न व्यवसायी अग्रसर भइरहेका छन्।

दक्षिणी भेगमा भने बेत्रावतीको उत्तरगयाधाम, ठूलोगाउँको भुमेस्थान, कालिकास्थान, जिवजिवेको नीलकण्ठ महादेवस्थान, मानेश्वारा, यार्साको लारच्याङ्टार, सरमथलीको निर्कुभुमेजस्ता स्थान समेत पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको र त्यस क्षेत्रका व्यवसायीसमेत भ्रमण वर्ष सफल पार्न अगाडि बढिरहेको बताइएको छ। नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत घुम्न आउने पर्यटकलाई खानेबस्ने यथेष्ट व्यवस्थापनका लागि सबै पर्यटन व्यवसायीले आ–आफूले सञ्चालन गरेका लज तथा होटलको सुदृढीकरणसमेत गरिसकेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए। ऋण गरेर भए पनि होटल तथा लज सुदृढीकरण र गाउँ–गाउँमा घरवाससमेत सञ्चालन भइरहेको छ। घरवासको सुविधा भने बृद्धिम एवं गतलाङ क्षेत्रमा रहेको गतलाङका पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङले बताए।

रसुवा प्रवेशद्वार बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे, भार्खु, ठूलोस्याफ्रु, चन्दनबारी, लौरी विनायक, गोसाइँकुण्ड, स्याफ्रुबेँसी, खाम्जिङ, लामाहोटल, थाङसाप, लाङटाङ, मुण्डू तथा क्याङजेन पर्यटकीय क्षेत्र पुरानो पदमार्ग भए पनि युग परिवर्तनसँगै स्याफ्रुबेँसीसम्म यातायात सेवा सञ्चालन भएकाले हिमाली छटा अवलोकन गर्न जाने पर्यटकले स्याफ्रुबेँसीबाट पदयात्राको शुरुआत गर्ने गरेका छन्।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक रसुवा भित्रिने अपेक्षा गरिएको बताउँदै स्याफ्रुबेँसीका पर्यटन व्यवसायी ल्हाक्पागोम्वो तामाङले पाहुनाको स्वागतका लागि स्थानीय व्यवसायी तयार रहेको जानकारी दिए।

नेपाल भ्रमण वर्षमा आउने पर्यटकमाझ भोजनका लागि स्थानीय जातका फापर, मकै, कोदोको पिठोबाट तयार भएको ढिँडो एवं रोटी, गोल्जुङको लेकाली चामलबाट पकाइएको भात, सिस्नु तथा कालो मुसुरको दाल, सिमी तथा डल्लेमुला, आलुजस्ता तरकारी, स्थानीय चिसोपानीमा उत्पादित ट्राउट माछासमेतका चिज उपयोग गरिने व्यवसायी तामाङले बताए।

लाङटाङ, गोसाँइकुण्डका साथै तामाङ सम्पदामार्गअन्तर्गत बृद्धिम, टिमुरे, थुमन, नाकथली, तातोपानी, थाम्बुचेतसमेतका पर्यटकीय पदमार्गमा २०० भन्दा बढी होटल तथा लज सञ्चालनमा रहेका कारण पर्यटकलाई बास बस्न कुनै समस्या नपर्ने यहाँका पर्यटन व्यवसायीको भनाइ छ।

पाहुनाको स्वागत सत्कारका लागि उत्तरी भेगमा तामाङ संस्कृतिअन्तर्गत स्याबु्र, जरायो, तामाङसेलोजस्ता कलाको विविध नाच र नेपाल, तिब्बत युद्वका बेला भएका लडाइँको झलकसमेत प्रदर्शन हुने गरेको गोल्जुङ निवासी तत्कालीन जिविस सभापति मिलन तामाङले जानकारी दिए। उनका अनुसार यो कला भने गोल्जुङमा रहेको छ।

पर्यटन प्रवद्र्धनबाट ग्रामीण क्षेत्रको गरीबी हटाउने सरकारको कार्यनीतिबमोजिम विसं २०५७ देखि लागू भएको पाँचवर्षे पर्यटन कार्यक्रमले सिकाएका ज्ञान, सीप र व्यवस्थापन प्रचारप्रसारकै सहयोगले गतलाङ तथा तातोपानी, नाकथली, थुमन र बृद्धिम क्षेत्रमा पर्यटक जाने वातावरण सिर्जना भएको हो।

पर्यटन प्रवद्र्धनका लागि तत्कालीन समयमा कार्यरत पर्यटनविद् रामचन्द्र सेढाइँको योगदान रसुवाको पर्यटन क्षेत्रमा अविस्मरणीय रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए। तामाङ सम्पदामार्गमा यात्रा गर्दा देख्न सकिने हिमालले प्रफुल्लित बनाउने र अर्काेतर्फ घरवास क्षेत्रमा पुग्नासाथ स्थानीयवासीको खादा एवं सगुनको पहिलो भव्य स्वागतले ती पर्यटकमा थप उमङ्ग बढ्न गई उनीहरूको बसाइँसमेत लम्बिने गरेको व्यवसायीले बताएका छन्।

स्थानीय व्यवसायीको स्वागत सत्कार, जैविक खाना, परम्परागत कला संस्कृतिको नाचगान, उकाली–ओराली, भञ्ज्याङ, चौतारी, मिश्रित वनस्पति, पदमार्गको नजिक देखिने जनावर, विभिन्न प्रजातिका चरासमेतले पर्यटकलाई मनमोहक बनाउने गरेको छ।

यसैगरी दक्षिणी रसुवामा भने पर्यटकलाई स्वागत गर्ने तरिका केही फरक रहेको छ। उत्तरी रसुवामा लामाझाँक्रीले पूजाआजामा ड्याङ्ग्रो तथा झ्याम्टा प्रयोग गर्छन् भने दक्षिणी रसुवामा पञ्चेबाजा, मादल, खैँजडी, डम्फुजस्ता साधन प्रयोग गरिने चलन रहेको पाइन्छ।

पर्यटकले काठमाडौँको बालाजुबाट बसमा यात्रा शुरू गरेपछि जिवजिवे, मानेश्वारा, लोकिल, यार्साको सिङ्गबन्दीबाट गोसाइँकुण्डको पदमार्गका लागि कालिकास्थानमा र लाङटाङ पदमार्गका लागि स्याफ्रुबेँसीसम्म यातायातका साधन प्रयोग गर्न सक्ने रसुवा–नुुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत प्रदेश नं ३ सचिवालयका अध्यक्ष शिव लामिछानेले जानकारी दिए।

पर्यटकका लागि रसुवाका साथै नुवाकोट र धादिङका क्षेत्रमा समेत अकर्षणस्थल रहेका छन्। नुवाकोट जिल्लाको ऐतिहासिक नुवाकोट साततले दरबार, देवीघाट, शिवपुरी, गेर्खुको दुधेलामा, चोगदे क्षेत्रको सूर्यगढी, दुप्चेश्वर, फिकुरीको जुरेथुम, राउचुली, बेल्कोटगढी, बुङताङ, देउरालीजस्ता अनगिन्ती स्थान भएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेले जानकारी दिए।

गेर्खुटारमा घरवाससमेत सञ्चालनमा आएकाले ग्रामीण पर्यटकका लागि गेर्खुथलो उपयुक्त स्थान बन्दै गएको बताइएको छ। रसुवा र नुवाकोट जिल्लाका पर्यटकीय क्षेत्रको अध्ययन र पूर्वाधार निर्माण गराउन सहजीकरण गरी पर्यटनको महत्व, पर्यटकलाई दिइने सेवा एवं व्यवसायीलाई आयवृद्विमा सबल पार्ने तौरतरिका समेतका विविध पक्षमा पर्यटन समाजले योगदान दिइरहेको अध्यक्ष न्यौपानेले बताए।

यस्तै रसुवा, नुवाकोट, सिन्धुपाल्चोकका साथसाथै पर्यटकका लागि धादिङ जिल्लामा पनि रमणीय र ऐतिहासिक क्षेत्र रहेको समाजले जनाएको छ। धादिङ जिल्लाअन्तर्गत गणेश हिमाल क्षेत्र इलाकाको लापामा कालो तथा सेतोपानीका छुट्टाछुट्टै कुण्डताल, त्यहाँका गुरूङ, तामाङ एवं घले जातिका विविध सांस्कृतिक नाचगानको अवलोकन र हिमाली क्षेत्रको जैविक भोजनले त्यहाँ पुग्ने पर्यटकलाई थप प्रफुल्ल पार्ने गरेको त्यस क्षेत्रका स्थानीयवासीको भनाइ छ।

उचाइ क्षेत्रका हिमाल, ताल एवं तलैयाले मनमोहक बनाउँछ भने धादिङको दक्षिणी भेगबाट प्रवाह हुने त्रिशूली नदीको जलयात्रा पर्यटकका लागि थप आकर्षण हुँदै आएको पर्यटन व्यावसायीले बताएका छन्। धादिङ जिल्लाको त्रिपुरासुन्दरी, गङ्गा–जमुना झर्ना, नहगुफा, कान्द्राङगढी, पृथ्वीनारायण शाहको चूडाकर्म गरेको मैदीकोट, लोक्लाङ, बैरेनीदेखि जोगीमारासम्मको चेपाङ बस्तीसमेत पर्यटकका लागि आकर्षणस्थल रहेको युवा पर्यटन व्यवसायी गगन न्यौपानेले बताए।

उता सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी क्षेत्र पनि पर्यटकीय आकर्षण केन्द्र भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। आफ्नो कार्यक्षेत्रको संरक्षित सूचीमा रहेका रातोहाब्रे, हिमाली कालो भालु, हिमचितुवा, कस्तुरी मृगसमेतका जनावर पाइने भएकाले नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत पर्यटकको भ्रमणका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज बढी प्रभावकारी हुने वन प्राविधिक विवेक श्रेष्ठले बताए।

रसुवा, नुवाकोट, सिन्धुपाल्चोक तीन जिल्लाको एक हजार ७१० वर्गमिटरका उच्च भू–भाग समेटिएको लाङटाङ राष्ट्रिय निकुञ्ज भएकाले हिमाली क्षेत्रको दृश्यले पर्यटक बढी प्रफुल्लित हुने गरेको समेत उक्त कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: