काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री बालेन साहको मंसिर ६ र ७ गते हुने भारत भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने कार्यक्रम छ । भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ ।
टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा जानेछ । भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ ।
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साह तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा पनि प्रधानमन्त्री साह सहभागी हुनेछन् ।

