शुक्रबार, मङि्सर ०५, २०८३

स्थानीय निर्वाचन राजनीतिक लडाइँको मैदान बन्ने ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले तोकेको समयमै स्थानीय तह र प्रदेशसभा निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानअनुसार वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले संविधान मिच्ने कार्यमा एमालेले सहमति नजनाउने स्पष्ट पार्दै एक ठाउँमा संविधान मिच्न दिइए त्यसले अन्य ठाउँमा पनि संविधान उल्लंघन गर्ने बाटो खोल्ने बताए ।उनले भने, ‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ । एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ, संविधान मिच्ने कुरामा हामी भर्याङ लगाइदिन सक्दैनौँ ।’

उनले संविधान उल्लंघनको एउटा घटनालाई आधार बनाएर सरकारले अन्य ठाउँमा पनि संविधान मिच्ने अवस्था सिर्जना गर्न नहुने बताए । सोही क्रममा ओलीले पार्टीका जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिए ।

स्थानीय तहको निर्वाचन राजनीतिक प्रतिस्पर्धाको निर्णायक मैदान बन्ने टिप्पणी गर्दै ओलीले स्थानीय स्तरबाटै जनताको समर्थन र विरोध निर्माण हुने बताए ।उनले भने,‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँबाट हुन्छ । त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीय तहको निर्वाचन बन्नेवाला छ ।’

उनले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो कार्यकालमा भएका कमजोरी सुधार्न र जनतासँगको सम्बन्ध मजबुत बनाउन निर्देशन दिए । बाँकी रहेको समय सदुपयोग गर्दै अधुरा काम पूरा गर्न तथा जनताको विश्वास जित्न सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने,‘यदि पौने चार वर्षजति पोखियो भने हतारहतार उठाउनुस्, हतारहतार मिलाउनुस् ।’ निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्ने, पार्टी नछोडी मत परिवर्तन गर्ने र पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरूलाई एमालेमा स्थान तथा अवसर नदिने चेतावनी पनि उनले दिए ।

यसमा तपाईको प्रतिक्रिया