काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।सोमबार बसेको विपक्षी दलहरुको बैठकले पछिल्लो समय सरकारका गतिविधि जनभावनाविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसबारे संसद्मा गम्भीर छलफल हुनुपर्नेमा जोड दिएको हो ।
बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अधिवेशन आह्वानका लागि सभामुखसहित सत्तारूढ दलसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।उनका अनुसार पछिल्लो समय इनाम सापकोटा र बिचौलियासँग जोडिएका विषय सार्वजनिक हुनुका साथै न्यायालयसमेत विवादमा तानिएको विषयमा बैठकमा छलफल भएको थियो । यस्ता विषयको सत्यतथ्यबारे संसद्भित्रै बहस हुनुपर्ने नेताहरूको धारणा रहेको उनले बताए ।
त्यसैगरी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा सञ्चारमाध्यममा भइरहेको प्रहरी धरपकडका विषयले पनि बैठकमा स्थान पाएको थियो ।उनले भने, ‘यी विषयलाई संस्थागत रूपमा संसद्बाटै बहस र छलफल गर्नुपर्छ भन्ने निष्कर्षसहित तत्काल सदन बोलाउन पहल गर्ने निर्णय भएको छ ।’
आङ्दाम्बेले बैठकमा सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषय उठेको बताए। सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै संसद्को औचित्य नै सकिएजस्तो देखिएको उनको भनाइ थियो
नेपाली कम्युनिष्ट पार्टी(नेकपाका)सांसद प्रमेश हमालले बैठकमा विपद्पछिको पुनर्निर्माण, राष्ट्रियता, लोकतन्त्र, संविधानमाथि उठेका प्रश्न तथा जनताका सरोकारका विषयमा छलफल भएको बताए। उनले भने, ‘अहिले जुन किसिमको सङ्कट पैदा भएको छ, बिचौलियाहरूले राज्यसत्तामाथि कब्जा गर्ने प्रयत्न गरिरहेका छन्। यी तमाम विषयमा संसद् आह्वान गरेर गम्भीर छलफल गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए भने नेकपा एमालेकातर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी थिए ।
बैठकमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओली पनि सहभागी थिए ।

