काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मदनदेउपुर नगरपालिका–नगरकोटस्थित श्री महाकाली माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ।
जापानको नीचिनोकेन कान्तो कम्पनीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन एक विशेष समारोहबीच आज शुक्रवार उद्घाटन गरिएको हो।
विद्यालय भवन उद्घाटन समारोहमा जापानको कम्पनीले विद्यालयलाई कम्प्यूटर, कलर प्रिंटर र विद्यार्थीलाई कापी, कलम हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक राम तामाङको सभापतित्व तथा मदनदेउपुर नगरपालिकाका नगरप्रमुख टोपबहादुर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा जापानका लागि नेपालका पूर्वराजदूत डा. दुर्गाबहादुर सुवेदी तथा जापानस्थित नीचिनोकेन कान्तो कम्पनीका अध्यक्ष ताकाशी कोजिमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा मदनदेउपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख टोपबहादुर वाइबाले मदनदेउपुर नगरपालिकाभित्र रहेको महाकाली माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याएकोमा जापानको नीचिनोकेन कान्तो कम्पनीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विदेशी मित्र तथा संस्थाबाट प्राप्त सहयोगले स्थानीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, नीचिनोकेन कान्तो कम्पनीका अध्यक्ष ताकाशी कोजिमाले नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त अवसरमा नेपाल र जापानबीचको स्थानीय तहस्तरको सम्बन्धबारे पनि चर्चा गरिएको थियो। मदनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच सन् २०२४ मा भगिनी सम्बन्ध कायम भएको उल्लेख गर्दै दुई देशबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई थप विस्तार गर्न यस्ता शैक्षिक तथा सामाजिक सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

विद्यालय भवन निर्माण तथा उद्घाटनले स्थानीय विद्यार्थीहरूको अध्ययनका लागि सहज र अनुकूल वातावरण निर्माण हुनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र जापानबीचको मित्रता, सहयोग र सहकार्यको उदाहरणका रूपमा रहेको यस सहयोगले शिक्षा क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई थप उजागर गरेको छ।

