सोमबार, कार्तिक १७, २०८३

जापानमा सम्पत्ति र परिवारको पीआरबारे प्रश्न उठेपछि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए ।

सोमबार समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाएका थिए । यसअघि असोज २८ गते प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।

थापासँग जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले त्यस दिन अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत थियो ।

यसमा तपाईको प्रतिक्रिया