आइतबार, भदौ १४, २०८३

ललितपुरका बसन्त पहरी हाइड्रोबाट ४ दिनदेखि सम्पर्कविहीन, खोजीका लागि परिवारको अपील

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेल निवासी बसन्त पहरी रसुवास्थित अपर त्रिशुली–१ जलविद्युत् आयोजना क्षेत्रमा गएको क्रममा विगत चार दिनदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार भदौ ११ गते अर्थात् अगस्ट २७ तारिख बिहान करिब ६:०० बजे अन्तिम पटक सम्पर्क भएपछि उहाँसँग हालसम्म कुनै सम्पर्क हुन सकेको छैन। बसन्त पहरी मिटिङका लागि टोलीसहित Upper Trishuli-1 Hydropower Project Site, Rasuwa पुगेका थिए।

उहाँहरूले Spark Car को बा प्र ०१–०३० च ९३८४ नम्बरको गाडी लिएर हाइड्रो साइटतर्फ गएको परिवारले जनाएको छ। बसन्त पहरीसँगै टोलीका अन्य सदस्यहरू पनि सम्पर्कविहीन रहेको बताइएको छ।
भीषण बाढी र पहिरोका कारण रसुवा क्षेत्रका मोबाइल टावर तथा विद्युत् आपूर्तिमा गम्भीर क्षति पुगेपछि सञ्चार सेवा ठप्प हुँदा सम्पर्क स्थापित गर्न कठिनाइ भएको परिवारको भनाइ छ। परिवारले उहाँहरू सुरक्षित स्थान, डाँडा वा हाइड्रो क्याम्प क्षेत्रमा आश्रय लिएर बसिरहेको हुन सक्ने आशा गरेको छ।

हाल विभिन्न उद्धार टोली, सुरक्षा निकाय तथा हेलिकप्टर रेस्क्यु टोलीसँग समन्वय गरी खोजी कार्य जारी रहेको जनाइएको छ। चार दिन बितिसक्दा पनि बसन्त टोलीको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
बसन्त पहरीका एक छोरा, एक छोरी र श्रीमती रहेका छन्। परिवार उहाँको अवस्थाबारे चिन्तित रहेको छ।

कुनै पनि जानकारी भएमा तत्काल ९८४९०३३६६२ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन परिवारले सबैसँग हार्दिक अपील गरेको छ।

यसमा तपाईको प्रतिक्रिया