टोकियो । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूमा शोक पुस्तिका राखिने भएको छ।
२०८३ साल भाद्र १५ गतेदेखि १८ गतेसम्म, अर्थात् अगस्ट ३१ देखि सेप्टेम्बर ३, २०२६ सम्म चार दिन शोक पुस्तिका राखिने जनाइएको छ। सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने उक्त शोक पुस्तिकामा विदेशमा रहेका नेपाली तथा शुभेच्छुकहरूले मृतकप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गर्न सक्नेछन्।
यसैक्रममा जापानको टोकियोस्थित नेपाली राजदूतावासमा पनि चार दिनसम्म शोक पुस्तिका राखिने भएको छ। प्रत्यक्ष रूपमा उपस्थित हुन नसक्नेहरूका लागि अनलाइन माध्यमबाट समेत शोक सन्देश तथा समवेदना स्वीकार गरिने व्यवस्था गरिएको जापानका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले जानकारी दिनुभयो ।
उहाँले विपत्तिको यस दुःखद घडीमा सम्पूर्ण नेपाली समुदायलाई मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न आग्रह गर्नुभएको छ।

