काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै दल आफ्नै तरिकाले लड्ने हो भने एकै दिनमा सत्ता उल्ट्याउन सकिँदोरहेछ भन्ने कुरा अहिले सत्तामा भएकाहरुले सिकाएको बताएका छन् ।
४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले चारैतिरबाट घेरा हाल्ने हो एकैदिन सत्ता ढल्ने बताएका हुन् ।
उनले भने, ‘उनीहरूले सिकाएका छन् नि। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ भनेर । हरेक पार्टीले आफ्नो गच्छेअनुसार र क्षमताअनुसार देशभरिबाट पाँच–सात लाख जनता काठमाडौँमा अनि हरेक सदरमुकाममा १ लाख, डेढ लाख, १ लाख, डेढ लाख उतारेर गर्यो भने एकैदिनमा उल्ट्याउन सकिँदैन त ? यतापट्टि किन नसोच्ने ? हामी सबैले सोच्नुपर्यो एकचोटी, नत्र बर्बाद हुन सक्छ।’
उनले भदौ घटनाजस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए । प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेकोसमेत बताए ।
उनले भने, ‘चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन ? पचासौँ वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव। अब अर्को नयाँ दलाइ लामा नेपालमा भन्ने पनि हल्लाखल्ला छ।’
उनले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए । उनले भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गरे ।
उनले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै त्यसको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए ।
प्रचण्डले भने, ‘२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जसको वैदेशिक दबाब र हस्तक्षेप पनि देख्यौं । नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो । सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यस्तो निरीहता हामी कसैले इतिहासमा पढ्न पनि परेको थिएन ।’
उनले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गरे ।
प्रचण्डले आफ्नै आँखाअगाडि नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र विध्वंस भएको घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसका कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए ।

