काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेश सिंहले यो सरकारले पनि जनतामा आशा जगाउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद सिंहले जनतामा आशा जगाई देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न आग्रह गरेका हुन् । उनले व्यवसायी, युवा, विद्यार्थी कोही पनि अहिले सन्तुष्ट नरहेका बताए । उनले यो हप्तामै तीन युवाले आत्मदाह गरेको भन्दै दुःख व्यक्त गरे ।
उनले भने, ‘हामी राज्य सञ्चालन गर्दैछौँ। तर, जनतामा चरम निराशा छ । यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य निर्माण हुँदैछ। हामी संसद्बाट त्यो खालको भाष्य निर्माण नगरौँ। म सबैलाई आग्रह गर्छु, राज्य र जनता रहे मात्रै हामी राजनीति गरौँला। आज सत्तामा हुने भोलि नरहौँला। जनता र लोकतन्त्र रहे मात्रै हामी राजनीति गरौँला। हामी सबैले जनता र लोकतन्त्रको रक्षा गरौँ।’
उनले राष्ट्रिय मुद्दामा सबै दल मिलेमात्र संकटबाट बाहिर निस्कन सकिने बताए । उनले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई मेरो आग्रह छ, हामी यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष स्थायी होइन।’

