काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ(एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे । अध्यक्ष ओलीले सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाउँदै यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने, ‘खेलाडी खान नपाएर कमजोर हुने, खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो खालको स्थिति हुनुहुँदैन। यतातिर सरकारले पनि ध्यान दिनुपर्ने हो। तर सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्छ।’
उनले देशै बर्बाद भएकाले खेल क्षैत्रमात्रै अगाडि जान नसक्ने बताए । उनले भने, ‘भूइँचालो, कोभिडले ध्वस्त पार्यो हामीले उकास्ने प्रयास गर्यौं । तर यो कुरा सैह्य भएन । तर तोडफोड हत्या हिंसा मच्याइयो । यसलाई वैधानिकता दिने काम भइरहेको छ।’

