काठमाडौँ । विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेका जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७८ जना पुगेका छन् । उनले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताइन् । ‘क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘सरकार नागरिक समाज सबैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’
यसैगरी, २०७८/७९ मा १९ हजार ३१, २०७९/८० मा १६ हजार ६९६ र २०८०/८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले महाशाखाबाट उपचार खर्च लिएका महाशाखाका निर्देशक निरौलाले जानकारी दिइन् । महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि १ लाखसम्मको औषधि उपचारको व्यवस्था गर्दै आइरहेको छ ।
यस्तै, प्रदेश सरकारले पनि थप १ लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ । नेपालमा देखिएका मुख्य क्यान्सरमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर प्रमुख रहेका महाशाखाका निर्देशक निरौलाले जानकारी दिइन् । उनका अनुसार पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वङ्शाणुगत कारण जस्ता मुख्य कारणले क्यान्सर निम्त्याउने बताए ।
‘भात, दाल, तरकारी, अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मद्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाँदा धेरै नै क्यान्सर हुने जोखिम हुन्छ’, उनले भने,‘मोटोपनले गर्दा क्यान्सर हुने जोखिम दोस्रो कारक हो ।’ उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्न सकिने बताए । नेपालमा सबभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर पर्ने गर्छ ।
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप किशोरीलाई निःशुल्क लगाउँदै आएको छ । सरकारकै तहबाट क्यान्सर रोग उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरेको छ ।

