आइतबार, असार ०७, २०८३

सन्तुलित कूटनीति कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिने छ, यो प्रश्न सबैका सामु छ । किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्त्व हुन्छ । तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ । आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट सङ्गठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु ।’

ज्ञवालीले रास्वपाले छोटो समयमै असाधारण जनसमर्थन हासिल गरेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूले पनि त्यसबाट सिक्नुपर्ने बताए । उनले युवाहरूलाई आकर्षित गर्ने र राजनीतिक सहभागितामा जोड्ने रास्वपाको प्रयास प्रशंसनीय रहेको धारणा राखे ।

उनले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता तथा उत्तरदायी राज्यको अवधारणालाई आत्मसात गर्दै रास्वपा अघि बढ्नुपर्ने सुझाव दिए। प्राप्त जनादेशको सही सदुपयोग भएमा लोकतन्त्र बलियो बन्ने र गलत प्रयोग भए जोखिम उत्पन्न हुनसक्ने चेतावनी पनि उनले दिए ।

उनले भने, ‘महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू गरी खाने जनताका लागि पनि राज्य चाहिन्छ । राज्य केवल हुनेखानेका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस्, मेरो धेरै–धेरै शुभकामना छ ।’

ज्ञवालीले वर्तमान भू–राजनीतिक परिस्थितिमा नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानीपूर्वक कदम चाल्नुपर्ने बताए । भारत र चीनसँगको सम्बन्ध तथा क्षेत्रीय जटिलताबीच सन्तुलित कूटनीति आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिलेको भू–राजनीतिक जटिलताबीच नेपालले राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्न अत्यन्त सावधानी अपनाउनुपर्छ । भारत र चीनजस्ता छिमेकीसँगको सम्बन्धमा सन्तुलित कूटनीति कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न आवश्यक छ ।’

यसमा तपाईको प्रतिक्रिया