काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा थापाले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए । उनले संकट कसरी उत्पन्न भयो, यसको स्रोत के हो र यसको समाधान कसले गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी निकास सम्भव नभएको धारणा राखे ।
उनले भने, ‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फसेको छ । यो सबै तपाईं हामीले अनुभव गरेका कुराहरु छन् । यो संकटको निकासको निम्ति हप्तादिनभन्दा बढी यो सदन अवरुद्ध भएको छ । र सदनमा संघर्ष चलिराखेको छ । यो संकट कसरी पैदा भयो ? यसको स्रोत के हो ? हामीले यो संकटको ठोस विश्लेषण नगरिकन यसको निकास पत्ता लगाउन हामी सक्दैनौं । यो संकटको समाधान के हो ? यो संकटको समाधान कस्ले गर्न सक्छ ? यो विषयको ठोस विश्लेषण नगरिकन हामीले यो संकटबाट मुक्ति पाउँन सक्दैनौं ।’
थापाले वर्तमान संकट दुईवटा प्रमुख परिघटनाबाट उत्पन्न भएको एमालेको निष्कर्ष रहेको बताए । उनका अनुसार पहिलो परिघटना जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्तिसँग सम्बन्धित छ ।
‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीले यही रोस्ट्रमबाट नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो । यही घोषणा र अभिव्यक्तिबाट संकट उत्पन्न भएको हाम्रो ठहर छ,’ थापाले भने ।
उनले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भारत भ्रमणको एक दिनअघि आकस्मिक रूपमा संसद्मा आएर दिइएको दाबी गर्दै त्यसले विशेष सन्देश प्रवाह गरेको उल्लेख गरे । थापाले संकटको समाधानका लागि यसको वास्तविक कारण र पृष्ठभूमिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

