सोमबार, जेठ ११, २०८३

पत्रकार श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले आज बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संगठनहरूले सत्ताधारी दल र मन्त्रीहरूबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई तारो बनाइएको आरोप लगाएका हुन् ।

नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमार्फत पत्रकार श्रेष्ठलाई निगरानी गर्ने, धरपकडको प्रयास गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने काम भइरहेको उल्लेख गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुसमाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार हो ।ु

त्यसैगरी, प्रेस चौतारी नेपालले राज्य शक्तिको आडमा भइरहेको यस्तो प्रतिशोधपूर्ण कदमको घोर निन्दा गरेको छ । महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत पत्रकार श्रेष्ठले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की र निगरानी बढाउनु सरकारको नियतमाथि नै प्रश्नचिह्न खडा भएको टिप्पणी गरेका छन् ।
प्रेस सेन्टर नेपालले पत्रकार श्रेष्ठविरुद्ध भइरहेका शंकास्पद गतिविधिबारे ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले आफ्नो विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई विदेशी नम्बरबाट धम्कीपूर्ण फोन आउने, कार्यालय परिसरमा मदिराका बोतल र नगद रकम छाडिदिने तथा आर्थिक प्रलोभनमा पार्ने जस्ता गतिविधि भइरहेको उल्लेख गरेका छन् ।

पत्रकारिताका यी प्रमुख संगठनहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भएको भन्दै पत्रकारलाई दिइने मानसिक यातना, धाकधम्की र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया