काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् ।
‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आइतबार आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उनले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिइन् ।
शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने उनको भनाइ थियो ।मन्त्री मल्होत्राले भ्रमणका क्रममा अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायसँग भेटवार्ता गरेकी थिइन् । नेपालका लागि बेलायतका राजदूत रब फेनले दीगो लगानीका बहुक्षेत्रका विषयमा उनीहरूबीच विमर्श भएको जानकारी दिए ।
बेलायत सरकारले दीर्घकालीन साझेदारीको सोचअन्तर्गत आधिकारिक विकास सहायता (ओडिए)मार्फत् अन्तरराष्ट्रिय विकासलाई समर्थन गर्दै आएको छ ।कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समतामूलक समावेशीता, प्राविधिक शिक्षा र अशल शासनजस्ता सवालमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजेको बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, बेलायतको गुणस्तर मापन प्रणाली विकास र अनुसन्धानमूलक उच्चशिक्षामा सहयोग आवश्यक भएको बताए । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका महासचिव डा उद्धव खड्काले उच्चशिक्षा अध्ययनका लागि नेपालबाट गत आर्थिक वर्षका २३ हजार विद्यार्थी बेलायत गरेको जानकारी दिए ।
छलफलमा ‘सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’का प्रबन्ध निर्देशक आभा शाह, जेम्स कलेजका प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल र बेलायतको शैक्षिक सहकार्यबारे सुझाव दिएका थिए ।

