शनिबार, जेठ ०२, २०८३

वर्तमान सरकार जनताप्रति क्रुर र निरंकुश बन्दै गएको राष्ट्रिय जेनजीको आरोप

काठमाडौँ । राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान ‘बालेन सरकार’ जनताप्रति क्रुर र निरंकुश बन्दै गएको आरोप लगाएको छ । अभियानले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी पनि दिएको छ ।

शनिबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय स्वाधीनताको मुद्दामा मौनता अपनाएको तर जनतामाथि कठोर व्यवहार गरिरहेको आरोप लगाए ।

‘लिपुलेकजस्ता राष्ट्रिय मुद्दामा सरकार मौन छ, तर जनतामाथि निरंकुश शैलीमा प्रस्तुत भइरहेको छ’, उनले भने । सह–संयोजक अजय सोडारीले संसद भवन र सिंहदरबारमा भएका घटनामा मौन बसेको राज्य सुकुम्वासी बस्तीमा डोजर चलाउन सक्रिय भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले वर्तमान सरकारमा ‘जोस बढी र होस कम’ भएको टिप्पणी गर्दै विधिको शासन र कानुनी राज्यको उपहास भइरहेको आरोप लगाए ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार पीडितलाई न्याय दिन सरकार असफल भएको दाबी गरे । उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

सचिव प्रकाश बमले प्रधानन्यायाधीश, न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा योग्यता र प्रतिस्पर्धाको आधारलाई बेवास्ता गरिएको आरोप लगाए ।
अभियानका सुनिल विकले भारतले कालापानी र लिपुलेक क्षेत्रबाट सेना नहटाए राष्ट्रिय मुक्तिको आन्दोलन आवश्यक पर्ने धारणा राखे । यस्तै, सुशील बुढाथोकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय र गैरकानुनी भएको बताए ।

यसमा तपाईको प्रतिक्रिया