काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन साहले संसदमा देखाएको व्यवहारको आलोचना गर्दै स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारलाई अमर्यादित भन्दै आलोचना गरे पनि स्वास्थ्य समस्या भएको हुन सक्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालमा लाखौँले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्न यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस् !’
उनले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर डेढ सयभन्दा बढी कानुन अध्यादेशमार्फत ल्याउनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमाथिको प्रहार भएको बताए । उनले यस्तो प्रवृत्तिले सिर्जना गर्ने दूरगामी असर भयावह हुनसक्ने बताए ।

