काठमाडौ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले आठाैँ नुवाकोट साहित्य पदयात्रा २०८३ र मनका झिल्काहरु पुस्तक विमाेचन सम्पन्न गरेका छन् ।
नेपाली साहित्यको उत्थान र स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित उक्त पदयात्रा विदुर नगरपालिकाको बट्टारबाट सुरु भई बेलकोटगढी नगरपालिकाको ऐतिहासिक महत्त्व बोकेको बेलकोटगढी हुँदै धार्मिक तथा प्राकृतिक दृष्टिकोणले प्रख्यात चिम्टेश्वर क्षेत्रमा पुगेर औपचारिक कार्यक्रम गर्दै कृति विमाेचन रचना वाचनका साथ शनिबार सम्पन्न भएको हाे ।
पदयात्राले साहित्यलाई भूगोलसँग जोड्दै स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेलेको आयोजकले संस्थाकी उपाध्यक्ष एवम् कार्यक्रमका सभापति जानुका दाहालले बताउनुभएको छ ।
विशेष गरी बेलकोटगढी र चिम्टेश्वरलगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको ओझेलमा परेका पक्षहरूलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ यो पदयात्रा तय गरिएको संस्थाका संस्थापक सभापतिले श्रीराम श्रेष्ठले कार्यक्रममा मन्तव्यकाे क्रममा जानकारी गराउनु भएको छ । पदयात्रामा देशभरका ख्यातिप्राप्त कवि, लेखक तथा स्थानीय स्रष्टाहरू गरी ५० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको संस्थाका प्रवक्ता करण तामाङले जानकारी दिनु भएको छ ।
सहभागीहरूले पदयात्राका क्रममा त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक गरिमाको अवलोकन गर्नुका साथै सिर्जनाका माध्यमबाट ती स्थानको प्रियता प्रदान गरेको र यस किसिमको अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त प्रवक्ता तामाङकाे रहेको छ ।
श्रीराम श्रेष्ठ, करण तामाङ, जानुका दहाल, रामकृष्ण अमर, भगवती खनाल र प्रमिला परीकाे संयुक्त कृति मनका झिल्काहरु मुक्तक संग्रह औपचारिक कार्यक्रमका साथ विमाेचन गरेकाे छ । उक्त कृतिको बारेमा अन्य स्रष्टा सर्जकहरुले प्रशंसा गरिएको थियोे । चिम्टेश्वर क्षेत्रको भ्रमण र अवलोकनपश्चात् एक औपचारिक साहित्यिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा सहभागी स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोबहादुर पुडासैनी, करण तामाङ भगवती खनाल, प्रमिला परी, सन्तोष भट्ट, मणी घिमिरे, लगायतका स्रष्टाहरूले कविता तथा गीत वाचन गरेर कार्यक्रमलाई अझ रोचक र जीवन्त तुल्याउनु भएको थियोे । प्रकाश ढुंगाना, दीपक तिवारी, प्रकाश सडौला, श्रीराम श्रेष्ठ, रामप्रसाद चालिसे, रामचन्द्र ढुङ्गेललगायतका व्यक्तित्वहरूले पनि आ–आफ्नो सिर्जनात्मक प्रस्तुति दिनु भएको थियोे । कार्यक्रममा सहभागीहरुले साहित्यिक पदयात्राले लेखकहरूमा नयाँ परिवेशसँग परिचित गराउन र सिर्जनामा नयाँपन ल्याउन ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गर्नु भएको थियोे ।

