काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्यालविरुद्ध मुद्दा दायर गरेको हो । ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी अख्तियारको छ ।

