बिहिबार, बैशाख २४, २०८३

विदेशमा उपचार गराउन खर्च लिने पूर्वविशिष्टहरुविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राज्यका पूर्वविशिष्टहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएकाले फिर्ता गराउन माग गर्दै सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

रिटमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ । विदेशमा उपचार गरेको खर्च राज्यले व्यहोर्ने कार्यविधि नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयबाट उनीहरुले उपचार खर्च पाएका थिए ।

रिटको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् । २०७५ सालमा जनस्वास्थ्य ऐन जारी गरेर त्यस्तो क्रियाकलापमा रोक लगाइएको भएपनि अर्को कार्यविधिमा भएको व्यवस्था अनुसार विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएका थिए ।

यसमा तपाईको प्रतिक्रिया