सोमबार, बैशाख २१, २०८३

नवनिर्मित भवनबाट वडा नं.६ को प्रशासनिक सेवा प्रारम्भ,सेवाग्राहीलाई सहज हुने वडा अध्यक्ष लामाको विश्वास

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं.६ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाअध्यक्ष भुवन लामाले नवनिर्मित भवनको उद्घाटन गरेपछि पूर्व वडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै वडाअध्यक्ष लामाले नयाँ भवनबाट सेवा थालनी गर्नुभएको हो ।

गुणस्तरीय सेवाका लागि सुविधा सम्पन्न पूर्वाधारले अहम भूमिका खेल्ने बताउँदै कार्यवाहक प्रमुख डंगोलले गुणस्तरीय वडा भवनबाट जनमैत्री सेवा प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभयो । यस्तै, वडाध्यक्ष भुवन लामाले, वडावाट प्रवाह हुने सेवालाई एउटै तलामा सम्पन्न गर्ने गरी कार्यकक्ष मिलाइएको बताउनुभयो । नवनिर्मित भवनमा एकद्वार प्रणाली र धेरै कोठामा घुम्नु नपर्ने गरी सेवा प्रवाह गर्न सहज हुने गरी कार्यकक्ष मिलाइएको लामाको भनाइ थियो ।

नवनिर्मित भवनको परिचय पाटीमा देवनागरिक (नेपाली), रञ्जना (स्थानीय नेवार समुदायले प्रयोग गर्ने भाषा) र सम्बोटा (स्थानीय तामाङ्हरुले प्रयोग गर्ने भाषा) गरी ३ थरीका लिपि राखिएको छ । २ हजार ७ सय वर्गफुट क्षेत्रफल रहेको पहिलो तलाबाट सामाजिक सुरक्षासँग सम्बन्धित सेवा प्रदान गरिनेछ । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष दोस्रो तलामा छ । यस तलाबाट भूसेवा तथा राजस्व संकलन, वैङ्क काउन्टर, नागरिक सहायता कक्ष, दर्ता चलानीलगायत सेवा प्रदान हुनेछ । यो तलाको पनि क्षेत्रफल २ हजार ७ सय वर्गफुट नै छ ।

यसैगरी, तेस्रो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । यस तलामा प्राविधिक र इञ्जिनियरिङ्, आर्थिक र लेखा, वडा सदस्यहरुको कार्यकक्ष, सम्पत्ति कर बुझाउने, व्यवसाय नविकरण गर्ने, घटना दर्ता गर्ने कक्ष छन् । चौथो तलामा ८० जना व्यक्ति अट्न सक्ने सभा कक्ष छ । यो तलाको क्षेत्रफल २ हजार ३ सय वर्गफुट छ । पाँचौ तलामा भान्छाघर र मेलमिलाप कक्ष छ । यसलाई ४ सय वर्गफुट छानाले ढाकेको छ ।

६ करोड २८ लाख २७ हजार रुपियाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट छनोट भएको बोनाफाइड कन्स्ट्रक्सन प्रा। लि। ले कवोल गरेको रकम ४ करोड ८८ लाख ५७ हजार रुपियाँमा कार्यादेश दिइएको हो । भवन निर्माणका लागि ४ करोड ७७ लाख ३२ हजार रुपियाँ खर्च भएको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यो भवनको डिजाइनर समेत रहनुभएका श्रेष्ठका अनुसार भवन राष्ट्रिय भवन संहिता २०२० को मापदण्ड अनुसार भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण भएको छ ।

वडा सचिव कमल गौत्तमका अनुसार पहिले साढे ३ तला बनाउने योजना थियो । यसले सेवा सञ्चालन गर्न नपुग्ने भएपछि भेरिएसन गरेर साढे ५ तले बनाइएको हो । यो भवनलाई यसैको उत्तरतर्फको भवनसँग जोडिएको छ । यो भवन २०७९ जेठमा निर्माण सम्पन्न गरिएको साढे ४ तले छ । यी दुवै भवन, गणेश मन्दिर सहित १ रोपनी १० आना जमिन छ ।

उक्त कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के.सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं.७ का अध्यक्ष विमलकुमार होडा,गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालसहित वडा नं.६ का वडावासीको बाक्लो उपस्थिति थियो ।

यसमा तपाईको प्रतिक्रिया