काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा झापाकाे दमकमा ‘दोस्रो खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ।
नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले आगामी जेठ १ र २ गते झापाकाे दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा फुट फेस्टिभल गर्न लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष अरुण अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफ, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।उनका अनुसार अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीमार्फत ४५ देशबाट शेफहरूको सहभागिता हुनेछ।
देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवद्र्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु कार्यक्रमकने मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ।कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टल रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछन्।
विश्वका विभिन्न विश्व चर्चित होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू नेपालमा भेला भएर नेपालकाे रैथाने पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ ।
यस्तै, विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गर्ने तय भएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नगद पुरस्कारको व्यवस्था गरेको छ। जसअनुसार प्रथम स्थान हासिल गर्ने प्रतियोगीले रु. १,००,०००, द्वितीयले रु. ७५,००० तथा तृतीयले रु. ५०,००० पुरस्कार प्राप्त गर्नेछन्।
नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । यस्तै नेपाली पर्यटन समेतको प्रवर्द्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
यस कार्यक्रमले नेपाली खानाको प्रवद्र्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । सोसाइटीका अध्यक्ष अरुण अधिकारीले देशभरका इच्छुक सहभागीलाई प्रतियोगितामा भाग लिन आह्वान गरेका छन् ।

