सोमबार, जेठ ११, २०८३

जापानले पारित गर्यों विदेशीको भिसा शुल्कमा भारी वृद्धि गर्ने कानुन

टोकियो । जापान सरकारले विदेशी नागरिकहरूको भिसा शुल्क वृद्धि गर्ने भएको छ ।
जापानको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले अप्रिल २८ तारिखमा विदेशी नागरिकहरूको भिसा प्रक्रिया शुल्क वृद्धि गर्ने अध्यागमन तथा शरणार्थी ऐन संशोधन विधेयक बहुमतले पारित गरेसंगै शुल्क वृद्धिले वैधानिकता पाउने भएको छ।
यस प्रक्रियाको मतदानमा सत्ताधारी गठबन्धन लगायत डेमोक्रेटिक पार्टी फर द पिपुल र सान्सेइतो दलहरूको समर्थनमा यो विधेयक पारित भएको हो।
नयाँ व्यवस्था अनुसार ५ वर्षको भिसा प्राप्त गर्दा ७० हजार येन शुल्क लाग्ने प्रस्ताव गरिएको छ, जुन हालको अधिकतम १० हजार येनको तुलनामा निकै बढी हो। अध्यागमन विभागका अनुसार ३ वर्षको भिसाका लागि ६० हजार येन, १ वर्षका लागि ३० हजार येन र ३ महिना वा सोभन्दा कम अवधिका लागि १० हजार येन शुल्क तोक्ने तयारी छ। स्थायी बसोबास (PR) को अनुमति शुल्कमा पनि उल्लेख्य वृद्धि गर्दै यसलाई २ लाख येन पुर्याउने लक्ष्य राखिएको छ ।
हालसम्म भिसा नवीकरण, परिवर्तन वा पीआर सबै प्रक्रियाका लागि अधिकतम १० हजार येन मात्र लाग्दै आएको थियो।
जापान सरकारको यस्तो नियमले महंगीको मारमा रहेका नेपाली तथा आप्रवासी समुदायमा ठूलो आर्थिक भार थप्ने देखिएको छ। यो विधेयक अब माथिल्लो सदनबाट पारित भएपछि पूर्ण रूपमा कानुन बन्नेछ।