काठमाडौँ । काठमाडौँका सुकुम्वासी बस्ती शुक्रबारदेखि हटाउन सुरु गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले बुधबार सूचना जारी गर्दै जिल्लाभरका नदी किनारका सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनेका सुकुम्वासी तथा जोखिमपूर्ण बस्ती खाली गर्ने अभियान शुक्रबार बिहानदेखि सुरु गर्ने जनाएकाे हाे ।
प्रशासनका अनुसार शुक्रबार बिहान ७:०० बजेदेखि काठमाडाैँभरका विभिन्न स्थानमा सुकुम्वासी बस्ती एकैसाथ हटाउने कार्य अघि बढाइने छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले हस्ताक्षर गरेको सूचनामा नदी किनारका बस्तीहरू मानविय उद्धार तथा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि हटाउन लागिएको उल्लेख छ ।
जोखिमयुक्त क्षेत्रमा निर्माण भएका घरटहरा तत्काल खाली गर्न र बैशाख १७ गते साँझसम्म पूर्ण रूपमा बस्ती खाली गर्न आग्रह गरिएको छ । सूचनामा बिरामी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती तथा बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न भनिएको छ । आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोग लिन सकिने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।
व्यक्तिगत सामान तथा पशुपन्छी स्थानान्तरणका लागि समेत सुरक्षाकर्मीको सहयोग उपलब्ध हुने बताइएको छ ।

