बुधबार, बैशाख १६, २०८३

बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अध्यक्षमा खड्ग जीत लामा नियुक्त

काठमाडौं ।  श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समिति गठन गरिएको छ। गुठी संस्थान सञ्चालक समितिको मिति २०८३ वैशाख ११ गतेको निर्णयअनुसार खड्ग जीत लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन भएको हो।

नवनियुक्त अध्यक्ष लामा श्री बौद्ध तामाङ कल्याण गुठीका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी एवं अवकाश प्राप्त शिक्षक समेत हुन । गुठी संस्थान ऐन, २०३३ को दफा १६ र १७ तथा गुठी देवस्थल व्यवस्थापन समिति गठन सम्बन्धी निर्देशिका, २०८१ को प्रावधान बमोजिम यो समिति चयन गरिएको हो।

नवगठित समितिका पदाधिकारीहरूमा अध्यक्ष खड्ग जीत लामा, सचिव टासी लामा, कोषाध्यक्ष शैलेन्द्र लामा, सदस्यहरुमा किशोर लामा, निर्मला लामा, पदेन सदस्यहरुमा गुठी संस्थान शाखा कार्यालय काठमाण्डौंका प्रतिनिधि, काठमाण्डौं महानगरपालिका वडा नं ६ का प्रतिनिधि, पुजारी लामा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय, प्रतिनिधि रहने छन् । समितिमा स्थानीय प्रतिनिधिदेखि सरोकारवाला निकायका प्रतिनिधिहरू समावेश छन् ।

बौद्धनाथको परम्परागत धर्म, संस्कृति, र दैनिक पूजाआजा कार्यलाई निरन्तरता दिने मुख्य कार्यभार पाएको छ। साथै, गुठीको स्वामित्वमा रहेका चल–अचल सम्पत्तिको अधिकतम परिचालन, संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी समेत समितिलाई सुम्पिएको छ। यो गठनले बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापनमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

यसअघि बौद्ध क्षेत्रलाई आफ्नो साम्राज्य ठान्दै  आएको चिनिया लामा भुपतिबज्रको राजकाज समाप्त भएको भन्दै बौद्धका स्थानीयहरु खुशी व्यक्त गरेका छन् । गुठी संस्थानबाट नियुक्ति पाएका पुजारी चिनिया लामा विवादमा आएपछि बौद्धको संरक्षण गर्न स्थानीयहरूको पहलमा उक्त व्यवस्थापन समिति गठन गरिएको बताएको छ।

यसमा तपाईको प्रतिक्रिया