आइतबार, बैशाख ०६, २०८३

सल्यानको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना, ४ जनाको मृत्यु हुने

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् ।

पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।

यसअघि बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कै ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको थियो । कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको थियो ।

उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । तीमध्ये १४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको थियो ।

८ जनाको नर्सिङ होममा, दुई जनाको न्युरो अस्पतालमा र अन्यलाई उपचारका लागि बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया