काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए ।
उनले निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मको हात रहेको बताए । उनले भने, ‘यो सबै परिणामका पछाडि मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन् ।’
उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको बताए । उनले भने, ‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बीच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री साहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’
उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक बनाइएको बताए । एमालेका उपाध्यक्ष थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिए । प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बतााए ।

