शनिबार, चैत २१, २०८२

गोदावरी नगरपालिका–३ बालमैत्री वडा घोषणा

ललितपुर । गोदावरी नगरपालिकाको वडा नम्बर ३ लाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ । ’सम्मानित बालापन सुनिश्चित बालअधिकार बालमैत्री तथा समुन्नत गोदावरीको आधार“भन्ने मूल नाराका साथ आज वडा नं. ३ लाई एक विशेष समारोहका बीच ’बालमैत्री वडा’ घोषणा गरिएको हो ।

वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका–२०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि–२०७९ अनुसारका ५१ वटा सूचकहरू सफलतापूर्वक पूरा गरेसँगै यो गौरवपूर्ण खुसीयाली प्राप्त भएको वडा अध्यक्ष राज घिमिरे(सानुराजा)ले बताए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका र कार्यविधिको कार्यान्वयनलाई आफुले जोड दिएको अध्यक्ष घिमिरेले स्पष्ट पारे ।

उक्त ऐतिहासिक अभियान सफल बनाउने कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल,गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उप–प्रमुख मुना अधिकारी, वडा नं. ३ का सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारीहरू, बाल क्लबका प्रतिनिधि, वडा भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत वडाबासीको उल्लेख उपस्थित रहेको थियो ।

बालमैत्री वडा घोषणाअघि वडा कार्यलयबाट सुरु भएको प्रभातफेरी गोदावरी बसपार्क, खेलकुद मैदानसम्म पुगेर कार्यक्रममा परिणत भएको थियो ।