शुक्रबार, बैशाख ०४, २०८३

बौद्ध-महाँकालमा पर्याप्त सुविधासहितको सार्वजनिक शौचालय सञ्चालनमा

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा बौद्धस्थित महाँकाल चौर क्षेत्रमा निर्माण गरिएको सार्वजनिक शौचालय आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध, महाँकाल चौर क्षेत्रमा सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै निर्माण गरिएको सार्वजनिक शौचालय समितिका अध्यक्ष राजकुमार लामाले आज महांकाल पार्कका अध्यक्ष बिम्ब पौडेललाई साँचो हस्तान्तरण गरे । हस्तान्तरण सँगै शौचालय आजबाट सञ्चालनमा आएको छ । उक्त अवसरमा समितिका सदस्यहरु राब्गा शेर्पा, श्याम खतिवडा, सुरज रुम्बा लगायत, स्थानीयहरुको उपस्थिती रहेको थियो ।

बौद्ध महांकाल क्षेत्रमा दैनिक रूपमा ठूलो संख्यामा स्थानीय बासिन्दा, पर्यटक तथा श्रद्धालु आउने भएकाले सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी निर्माण गरिएको अध्यक्ष लामाले बताए।

बौद्ध क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यहाँ आउने सर्वसाधारणका लागि स्वच्छ र व्यवस्थित शौचालय उपलब्ध गराउने उद्देश्यले शौचालय बनाइएको समितिले जनाएको छ।

सञ्चालनमा ल्याइएको शौचालयले विशेषगरी महाँकाल चौर आसपासका सर्वसाधारण, व्यापारी, यात्रु तथा धार्मिक भ्रमणमा आउने श्रद्धालुहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। उक्त शौचालय समितिको करिब २५ लाख लागतमा निर्माण गरिएको हो ।