जापान । नेपाल पत्रकार महासंघको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स जापान–२०२६ ले ‘टोकियो घोषणापत्र–२०२६’ जारी गरेको छ ।
जापानको राजधानी टोकियोमा जुलाई २५ तारीख शनिवार जापान शाखा रवीन्द्र श्रेष्ठको सभापतित्वमा सचिव अर्जुन लामिछानेले संचालन गरी सम्पन्न ग्लोबल मिडिया कन्फ्रेन्समा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकारको कार्यान्वयन तथा प्रवासमा रहेका नेपाली पत्रकारको संस्थागत अधिकार सुनिश्चित गर्न सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको राजधानी टोकियोमा आयोजित सम्मेलन नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा एनआरएनए आईसीसी वरिष्ठ उपाध्यक्ष रोविन शेरचन तथा जापानका लागी नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो। सम्मेलनमा महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, प्रदेश तथा एसोसिएट अध्यक्ष, तीन जिल्ला अध्यक्ष, वैदेशिक शाखाका प्रतिनिधि तथा महासंघसँग सहकार्य गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघका युरोप, बेलायत, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, भारत र जापान शाखाको सहआयोजना तथा नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न सम्मेलनले नौबुँदे टोकियो घोषणापत्र जारी गरेको हो।
घोषणापत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने कुनै पनि गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेसमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ। साथै सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सेवा–सुविधा, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाहरूको ध्यानाकर्षण गराएको छ। प्रविधिको तीव्र विकाससँगै देखिएका चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था बनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
घोषणापत्रमा प्रवासमा बसेर नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धनमा योगदान गरिरहेका नेपाली पत्रकारको उच्च सम्मान गर्दै महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, विश्वभर रहेका वैदेशिक शाखाको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा पुनर्संरचना गरी वैदेशिक प्रदेश वा महादेशगत संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। वैदेशिक शाखाका सदस्यलाई महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्न पनि सम्मेलनले जोड दिएको छ।
सम्मेलनले प्रवासी नेपाली पत्रकारले आर्जन गरेका आधुनिक प्रविधि, ज्ञान, सीप, अनुसन्धान अनुभव र सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न वैदेशिक शाखालाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ। साथै गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरिएको छ।
घोषणापत्रमा वैदेशिक शाखा तथा महासंघसँग सहकार्य गर्ने संस्थामा आबद्ध सदस्यको मूल सदस्यता निरन्तर कायम राख्ने व्यवस्था गर्न तथा शाखा स्थापना नभएका मुलुकका पत्रकारलाई डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न पनि आग्रह गरिएको छ।
यसैबीच, सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघका सम्पूर्ण वैदेशिक शाखाको संयुक्त पहलमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ।
घोषणा पत्र निर्माण समितिका खगराज गौतमले घोषणापत्र घोषणा गर्नु भएको थियो ।
सम्मेलन सफल बनाउन सहयोग पुर्याउने जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्था, सञ्चारमाध्यम, प्रायोजक, सहयोगदाता तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरिएको छ। साथै, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्षसहित सम्पूर्ण आयोजक टोली, पत्रकार, स्वयंसेवक तथा प्रत्यक्ष–परोक्ष रूपमा योगदान गर्ने सबैप्रति धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ।

