जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनमा सहभागी हुन नेपालबाट ४१ जना, अमेरिकाबाट १ जना, युरोपबाट १ जना तथा नेपाल पत्रकार महासंघ यूके शाखाबाट ३ जना गरी कुल ४६ जना पत्रकार जापानको राजधानी टोकियो आइपुगेका छन्।
विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ आयोजना गरिएको यस सम्मेलनले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, अनुभव आदान–प्रदान, व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रवास र मातृभूमिबीच सञ्चार सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ। सहभागी पत्रकारहरूको स्वागत, आवास, यातायात, दर्ता तथा कार्यक्रम सञ्चालनका सबै तयारी पूरा भइसकेको उहाँले जानकारी दिनुभयो।
यस सम्मेलनको विशेष आकर्षणका रूपमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा जापानको परराष्ट्र मन्त्रालयबाट उपलब्ध गराइएको ७०औँ वर्षको आधिकारिक लोगो सम्मेलनमा प्रयोग गरिने भएको छ। यसले सम्मेलनलाई थप ऐतिहासिक र औपचारिक महत्व प्रदान गरेको आयोजकको विश्वास छ।
जुलाई २५ मा टोकियोमा आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वका विभिन्न मुलुकबाट आएका पत्रकारहरूबीच समसामयिक सञ्चार चुनौती, डिजिटल पत्रकारिता, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

