काभे । काभ्रेको कोसीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाको दीर्घकालीन सपना अब साकार हुने चरणमा पुगेको छ । भुम्लु गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू–संरक्षण विभाग र भुम्लु गाउँपालिका बीच आवश्यक जग्गा सम्झौता सम्पन्न भएको छ । यससँगै कोसीपारी भुम्लुमा आधुनिक र व्यवस्थित प्रशासनिक भवन निर्माणको बाटो औपचारिक रूपमा खुलेको छ ।
यस महत्वपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन निरन्तर रूपमा दिनरात खटिनु भएका न्यायिक समितिका सहजकर्ता तथा अधिवक्ता राजु लामा प्रति भुम्लु गाउँ सरकारका अध्यक्ष प्रेम बहादुर भुजेल ले विशेष आभार तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
अध्यक्ष भुजेलले भन्नुभयो—“भुम्लुका जनताको दीर्घकालीन आवश्यकतालाई सम्बोधन गर्ने यो कार्यमा अथक मेहनत र समर्पणका साथ खटिनु भएका राजु लामालाई भुम्लु गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
वर्षौँदेखि अपेक्षा गरिएको प्रशासनिक भवन निर्माण हुने भएपछि भुम्लुका नागरिकमा नयाँ आशा र उत्साह थपिएको छ। अब आफ्नै आधुनिक प्रशासनिक भवनबाट सेवा प्रवाह हुँदा नागरिकले सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।
भुम्लु गाउँपालिका अब सुशासन, पारदर्शिता र समृद्धिको यात्रामा अझ दृढतापूर्वक अघि बढ्ने संकल्पका साथ अगाडि बढिरहेको छ। कोसीपारी भुम्लुको विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने अभियानमा यो कदम ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
“समृद्ध भुम्लु, सुखी भुम्लुवासी” भन्ने लक्ष्यलाई साकार पार्ने यात्रामा यो उपलब्धिले नयाँ ऊर्जा थपेको छ। अब विकासका नयाँ अध्यायहरू लेखिँदै जाने विश्वासका साथ भुम्लुका नागरिकहरू आशावादी बनेका छन्।

