बिहिबार, फागुन २१, २०८२

मध्यपूर्व र खाडी मुलुकका दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने अमेरिकी घोषणा

वासिङ्टन । बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनाव ग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।

साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउञ्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

कुवेत स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभए सम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ ।

अमेरिकी विदेश विभागले गैर–आवासिय कर्मचारी उनीहरुका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकका लाई अनुरोधसमेत गरेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो । गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भए पछि द्वन्द्व चर्किएको थियो ।

प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया