टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले फेब्रुअरी ८ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिबद्धतामा विवाहपछि छुट्टाछुट्टै थर प्रयोग गर्ने प्रणालीलाई स्वीकार नगरी महिलाले विवाहअघिको थरलाई ‘सामाजिक नाम’ का रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने लक्ष्य राखेको जनाएको छ।
जापानमा विवाहपछि एउटै थर अनिवार्य गर्ने प्रावधान लामो समयदेखि विवादित विषय बनेको छ। सन् २०२५ मा भएको माथिल्लो सदनको निर्वाचनका बेला एलडीपीले यस विषयमा ‘सहमति निर्माणतर्फ काम गर्ने’ मात्र उल्लेख गरेको थियो।
तर वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीले छुट्टाछुट्टै थर प्रयोग गर्ने प्रणालीलाई पारिवारिक एकतामा असर पार्ने भन्दै कडा विरोध जनाउँदै आएकी छन्।
प्रधानमन्त्री ताकाइचीले परम्परागत पारिवारिक मूल्यलाई महत्व दिँदै विवाहपछि थर परिवर्तन गर्दा हुने सामाजिक असुविधा कम गर्न विवाहअघिको थरलाई कानुनी रूपमा प्रयोग गर्न सकिने व्यवस्था अघि बढाउने बताएकी छन्।
यससम्बन्धी विधेयक सन् २०२६ को नियमित संसद अधिवेशनमा पेश गर्ने तयारी रहेको छ।
सत्तारुढ गठबन्धन दल निप्पोन इसिन पार्टीले पनि यस प्रस्तावलाई समर्थन गरेको छ। तर विपक्षी दलहरू भने विवाहपछि एउटै वा छुट्टाछुट्टै थर रोज्न पाउने स्वतन्त्रता दिनुपर्ने पक्षमा छन्।

