सोमबार, माघ १३, २०८२

प्रधानमन्त्री ताकाइचीद्धारा संसद् विघटन, मध्यावधि चुनाव घोषणा,

टोकियो । जापानका प्रधानमन्त्री सानाइ ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि अर्थात स्न्याप चुनाव गराउने मार्ग प्रशस्त गर्नुभएको छ ।
हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको छ ।
गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल हुनुभएको छ, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धी मानिएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोेनल्ड ट्रम्पसँगको समीकरणका बीच रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गर्नुभएको छ ।
४६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।
प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइचीले स्पष्ट पार्नुभएको छ ।

सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ । माथिल्लो सदनमा भने गठबन्धनसँग बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपरेको अवस्था छ ।
प्रमुख आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै विपक्षी नेताहरूले प्रधानमन्त्री ताकाइचीको कडा आलोचना गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया