काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन् । नवनियुक्त श्रममन्त्री भण्डारीले आज मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि कात्तिक ३० गतेको निर्णय खारेज गरेका हुन् ।
श्रम मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय पुर्याउने निर्णय कार्यान्वयनका लागि व्यवसायीहरूलाई पत्राचार गरेको थियो । तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा ६ हजार ५ सय रूपैयाँ शुल्क लिँदै आएको शुल्क बढाएर ९ हजार ५ सय रूपैयाँ पुर्याउने निर्णय गरेका थिए ।
स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन ३४ प्रकारका परीक्षण गर्नुपर्ने र त्यसका लागि उक्त शुल्क निर्धारण भएको थियो ।
शुल्क बढेको विषयमा चौतर्फी विरोध भएपछि प्रधानमन्त्री सुशीला कार्कीले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार मन्त्री भण्डारीले शुल्क बढाउने निर्णय खारेज गरेका हुन् ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले एक विज्ञप्ति जारी गर्दै शुल्क वृद्धि खारेज गरिएको र पुरानै शुल्कमा स्वास्थ्य परीक्षण गरिने बताए ।

