टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको समन्वयमा जापानी पत्रकार र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माबीच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
टोकियोमा शुक्रवार साँझ महासंघकी अध्यक्ष शर्मा र जापानी पत्रकार बीच नेपाल र जापानको पत्रकारिताको अनुभव आदान(प्रदान भएको हो ।
कार्यक्रममा जापानमा क्रियाशील नेपाली पत्रकार तथा जापानी सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा अध्यक्ष शर्माले नेपाली पत्रकारिताको वर्तमान अवस्था, विद्यमान चुनौती तथा बदलिंदो विश्व परिवेशमा पत्रकारिताको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अनुभव र प्रविधिको प्रभावकारी प्रयोगले नेपाली पत्रकारिता अझ सक्षम र दिगो बन्ने विश्वास व्यक्त गर्नु भयो।
महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले जापानी पत्रकारिताको अनुशासन, कार्यशैली, तथ्य पुष्टिकरण प्रक्रिया तथा सकारात्मक व्यावसायिक दृष्टिकोण नेपालका पत्रकारका लागि प्रेरणादायी हुन सक्ने बताउँदै महत्वपूर्ण पक्षहरू उजागर गर्नुभयो।
त्यसै गरी कार्यक्रममा सहभागी जापानी पत्रकार मिसा हिगुची, हिरोखाजु मुरोहाशी र चिका फुकाबोरीले पत्रकारितामा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ताले सिर्जना गरेका अवसर र चुनौतीबारे आफ्नो विश्लेषण प्रस्तुत गरे। उनीहरूले नेपालमा प्रेस स्वतन्त्रता, सरकारी नियमनका सम्भावित प्रभाव तथा पत्रकारहरूको पारिश्रमिक संरचनाप्रति चासो व्यक्त गर्दै विस्तृत जानकारी लिएका थिए।
नेपाल र जापानका पत्रकारबीच भएको यो संवादले दुवै देशका पत्रकारिता अभ्यास, पेशागत अनुभव तथा प्रविधिजन्य रूपान्तरणबारे आपसी समझदारी र सहकार्यका नयाँ सम्भावना खुला गरेको नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ।
कार्यक्रममा महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, निवर्तमान अध्यक्ष शान्त पहरी,अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, उपाध्यक्षद्वय मनिषा चम्लागाई र लक्ष्मी पौडेल, सचिव अर्जुन लामिछाने, केन्द्रीय पार्षद इन्दिरा खनाल, सदस्यहरू भवानी भट्ट, दुर्गा आचार्य र दिनेश थापा, पत्रकार गणेश खानिया, जीवन सुवेदी लगायतको उपस्थिति रहेको थियो।

