सोमबार, मङि्सर २३, २०८२

मधेश विश्वविद्यालयमा अध्ययन र प्रशासनिक वातावरण सुधारको मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र

मधेश विश्वविद्यालयको प्रशासनिक र शैक्षिक व्यवस्थापनमा देखिएको अनियमितता र गैर–पारदर्शिताविरुद्ध विद्यार्थीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

उपकुलपति र रजिस्ट्रारकाे निजी कलेजसँगको संलग्नताका कारण विश्वविद्यालयका आन्तरिक काममा पर्याप्त समय दिन नसकेकाे उनीहरूकाे आरोप छ । यसै कारण विश्वविद्यालयका निर्देशन, खर्च विवरण र नीतिगत निर्णयहरू सार्वजनिकरूपमा नआएपछि विद्यार्थीहरूबीच भ्रष्टाचारको शंका बढेको छ ।

प्रशासनिक असमझदारी र आन्तरिक द्वन्द्वका कारण नै विश्वविद्यालयको समग्र कार्यप्रदर्शनमा नकारात्मक प्रभाव परेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले शुक्रबार विद्यालयमा देखिएको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता र वित्तीय जवाफदेहिताको मागसहित मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई १६ बुँदे ज्ञापनपत्र पेश गरेका थिए। तर सो ज्ञापनपत्रको कार्यान्वयनमा कुनै ठोस प्रगति नदेखिएको उनीहरूको दाबी छ।

विद्यार्थीहरूले अब सम्बन्धित निकाय, कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्रीसमक्ष विश्वविद्यालयमा देखिएको अव्यवस्था, असहयोग र गैर–पारदर्शिताप्रति तत्काल ध्यान दिन माग गरेका छन्।

मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका कुलपति सोनलले विश्वविद्यालयमा उठेका गुनासा र अनियमितताबारे आवश्यक कारबाही गर्ने आश्वासन दिएका छन्। विश्वविद्यालयमा सुधारका लागि राजनीतिक प्रभावभन्दा माथि उठेर पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्ने उनकाे प्रतिबद्धता छ ।